लामो समयदेखि मातृभूमि जागरण अभियानको नेतृत्व गर्दै आएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने तयारीमा छन्। नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नो अभियान अलग्गै सञ्चालन गर्दै आएका थिए।
नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भएपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल गरिरहेको थियो।
आइतबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी र शेरबहादुर कुँवरलगायतले रावलसँग भेटवार्ता गरी पार्टीमा सामेल हुन आग्रह गरेका थिए।
छलफलमा सहभागी नेताका अनुसार रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने विषय लगभग टुंगिएको छ र कात्तिक २६ वा २७ गते सार्वजनिक कार्यक्रमको आयोजना हुने छ। रावललाई पार्टीमा उपयुक्त हैसियत र जिम्मेवारी दिने कुरामा नेताहरू सकारात्मक छन्।
वर्तमानमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि रावललाई छैटौँ वरीयतामा राख्ने तयारी छ। यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपामा नारायणकाजी सचिवालयमा रहेकै थिए। नेपाली कम्युनिष्ट पार्टीको सचिवालयमा पनि रावललाई राख्ने तयारी भइरहेको छ।
रावलले आफू नेताहरूसँग छलफलमै रहेको पुष्टि गर्दै भने, “नेताहरूसँग छलफल भइरहेको छ, हामी अहिले छलफलकै क्रममा छौं।” रावल निकट नेताका अनुसार सोमबार साँझ थप छलफल हुनेछ र पार्टीमा समाहित हुने प्रक्रिया आजै टुंगिने अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस्