Ads

गोठालासँगै हराए पर्यटक: चिसो बढेपछि बुकीपाटन सुनसान


बर्खायाममा आन्तरिक पर्यटक र गोठालाको भीडले गुल्जार हुने बुकीपाटन अहिले सुनसान बनेको छ। चिसो बढेसँगै सयौँ गोठाला बेँसी झरेपछि उच्च पहाडी चरन क्षेत्र निस्तब्ध बनेको हो।

कात्तिकको पहिलो सातादेखि नै हरियाली घाँस सुक्दै गएपछि बुकीपाटनको आकर्षण पनि मन्द भएको स्थानीयले बताएका छन्। असारदेखि असोजसम्म यहाँ गोठालासँगै हजारौँ वस्तुभाउ र पर्यटकको चहलपहल रहने बुकीपाटन अहिले चिसो र शून्य गतिविधिसँग बाँचेको छ।

ढोरपाटन नगरपालिका–८ स्थित समुद्री सतहदेखि करिब ४,५०० मिटर उचाइमा रहेको बुकीपाटन पछिल्ला दुई वर्षयता आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै आएको छ। हरियाली उच्च पहाड, विशालतम चरन क्षेत्र, खर्क र हिमशृङ्खलाको अद्भुत दृश्यावलोकनका कारण बर्खामा यहाँ पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ।

ढोरपाटनका होटल व्यवसायी सन्देश थापाका अनुसार असोजसम्म पर्यटकको चहलपहल अत्यधिक रहने बुकीपाटन अहिले चिसोका कारण सुनसान छ।

“पहिले गोठालामात्र बस्ने ठाउँ अहिले पर्यटकले भरिन थालेको छ,” थापाले भने, “तर हिउँद सुरु भएपछि त्यहाँ पुग्ने साहस गर्नेहरू निकै थोरै हुन्छन्।”
नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पाका गोठालाले बर्खाको समयमा चरनका लागि प्रयोग गर्दै आएका छन्।

स्थानीय गोठाला तुलबहादुर सुनारका अनुसार असोज दोस्रो सातातिर गोठालाले बेँसी झरेसँगै बुकीपाटन सुनसान बनेको हो।

“भदौको अन्त्यदेखि नै गोठालाहरू झरिसकेका थिए, अहिले बुकीमा कोही पनि छैन,” उनले भने, “त्यहाँ अहिले पानी जम्छ, चिसोले बस्नै नसकिने अवस्था हुन्छ।”
ढोरपाटन उपत्यकामा पनि चिसो बढ्दै गएपछि पर्यटक आगमन घटेको स्थानीय पवन घर्ती मगर बताउँछन्। उनका अनुसार अहिले धेरै स्थानीयले बोबाङ र अधिकारीचौरतर्फ बसाइँ सरेका छन्।

“बर्खामा यहाँ जीवनमय वातावरण हुन्छ, अहिले भने सबै बेँसी झरेका छन्,” घर्तीमगरले भने, “हिउँ परेपछि भने हिउँखेल्न आउनेको संख्या फेरि बढ्छ।”
पहिले हिउँदमा बेँसी र बर्खामा ढोरपाटनमा बस्ने चलन रहँदै आएकोमा हाल सडक विस्तार र विकासका कारण स्थायी बसोबास बढेको छ। त्यससँगै बुकीपाटन र ढोरपाटन उपत्यका दुवै आन्तरिक पर्यटनका लागि नयाँ सम्भावना बनेका छन्।

Ads

सम्बन्धित पोष्टहरू