नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा घटेको २३ गतेको घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।
बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलायो थाहा छैन’ भन्ने अभिव्यक्ति दिँदै जिम्मेवारी पन्छन खोजेको आरोप लगाए।
“धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने, तर गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो,” पाण्डेले भने, “२३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानूनी कारबाही हुनु जरुरी छ।”
उनका अनुसार जेन–जी आन्दोलनको पहिलो दिन (२३ गते) को घटना जत्तिकै २४ गतेको घटनापनि अक्षम्य छ। उनले कानूनी शासन कायम गर्नका लागि दुवै दिनका दोषीलाई उन्मुक्ति नदिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरे।
पाण्डेले तत्कालीन सरकारले नेतृत्व गरेको एमालेकै कार्यकालमा सो घटना भएकोले पार्टीले छानबिनमा सघाउनुपर्ने बताए।
“यदि एमालेले नै यो घटनाको सत्य उजागर गर्न सहयोग नगरे, माओवादीका नेता–कार्यकर्ताजस्तै हाम्रो पार्टीका पनि कोही पनि कहिले समातिन्छ भन्ने त्रासमा बस्नुपर्ने हुन्छ,” उनले चेतावनी दिए।
उनका अनुसार जेन–जी आन्दोलन एमाले सरकारको कमजोरीकै उपज हो।
“पार्टी र सरकारका संयन्त्र यति ठूलो आन्दोलन र विध्वंसको सूचना नपाउनु नै गम्भीर कमजोरी हो,” उनले भने।
‘हालको सरकारले चुनाव गराउन सक्दैन’
अर्को प्रसङ्गमा उपाध्यक्ष पाण्डेले वर्तमान सरकारलाई कमजोर र असक्षम भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास आफूलाई नलागेको बताए।
“हालको सरकारले चुनाव गराउने प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै गरेको छैन,” उनले टिप्पणी गरे, “फागुन २१ मा चुनाव गराउन निकै कठिन देखिन्छ, चुनाव नभए देश अझ अन्यौलमा जान्छ।”
उनले दलहरू चुनावका पक्षमा रहे पनि सरकारले आवश्यक संवाद र तयारीमा उदासिनता देखाएको आरोप लगाए।
‘एमालेमा नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुनेछ’
एमालेको आसन्न महाधिवेशनबारे कुरा गर्दै पाण्डेले नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने दाबी गरे।
“आठौँ महाधिवेशनबाटै प्रतिस्पर्धाको परम्परा सुरु भएको हो,” उनले भने, “हाम्रो महाधिवेशनमा प्रतिनिधि सबै बराबर छन्, प्रतिस्पर्धा कसैले रोक्न सक्दैन। प्रतिस्पर्धाबाटै नेतृत्व आउँछ।”
प्रतिक्रिया दिनुहोस्