कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा झन्डै दुई दशकअघि सम्म फर्निचरको काम गरेर गुजारा चलाउँथे। तर समयक्रमसँगै त्यो पेशाबाट परिवार धान्नै मुस्किल बन्दा उनी वैकल्पिक रोजगारीको खोजीमा लागे। त्यहीबीच एक दिन साथीले पठाइदिएको काष्ठकलाका सामग्री बनाउने भिडियोले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो।
“इन्टरनेटमा भिडियो देखेपछि काष्ठकलामा रमाउन थालेँ,” महरा सम्झन्छन्, “हाउस डेकोरेसनको काममा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो। घर खर्च चलाउन नै गाह्रो भइसकेको थियो। अहिले त मजदुरीभन्दा धेरै फाइदा छ।”
दुई वर्षअघि सुरु गरेको यात्राले आज महारालाई सफल काष्ठकला उद्यमी बनाइदिएको छ। विजयसाल र बाँसबाट उनी गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलना लगायत दैनिक उपयोगका आकर्षक सामग्री उत्पादन गर्छन्।
यी काष्ठ र बाँसका सामग्री पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छन्। सबै प्रविधि उनले युट्युबमै सिकेका हुन्। “पहिले महिनौँसम्म काम नपाएर खाली बस्नुपथ्र्यो,” महरा भन्छन्, “अहिले महिनामा ४० हजारभन्दा बढी कमाइ हुन्छ। यस्तो सम्भव होला भन्ने सोचेकै थिइनँ।”
उनका बनाएका सामग्री किन्नेलाई अहिले घरमै आइपुग्ने गर्छन्। माग बढ्दो छ तर उत्पादन एक्लैले गर्न कठिन भएको महाराको अनुभव छ। “माग धेरै छ, तर उत्पादन मागअनुसार गर्न सकिरहेको छैन,” उनी भन्छन्, “यहाँका सामुदायिक वनहरूले कच्चा पदार्थ उपलब्ध गराइदिन्छन्, त्यसले काम झनै सहज बनाएको छ।”
युट्युबलगायत सामाजिक सञ्जालमा समय बिताउनेहरूको संख्या बढ्दै गइरहेका बेला, यी माध्यमको सकारात्मक प्रयोगले जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् महरा। पारिवारिक आर्थिक संकटले धकेलेर उनले सुरु गरेको सीपले आज सन्तोषजनक आम्दानी दिलाइरहेको छ।
“आर्थिक अभावले छिटो पैसा कमाउने मार्ग खोजेकै थिएँ,” महरा भन्छन्, “तर यति राम्ररी कमाइ होला भन्ने कल्पना नै गरेको थिइनँ। अहिले त निकै सन्तुष्ट छु।”
उहाँले स्वदेशमै रहँदै लगन र सीपको सदुपयोग गरे राम्रो आम्दानी गर्न सकिने सन्देश दिएको महरा बताउँछन्—“विदेसिन आवश्यक छैन, हिम्मत र मेहनत भए यहाँ पनि मनग्य कमाइ गर्न सकिन्छ।”
प्रतिक्रिया दिनुहोस्