मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद सर्वोच्च अदालतमा पुगेको छ। नेपाली कांग्रेससहित सात दलका ७४ प्रदेशसभा सदस्यले हालै नियुक्त भएको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध रिट दायर गरेका हुन्।
अन्तरिम आदेशको मागसहित परेको रिटको पेशी आज न्यायाधीश तिल प्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको छ। गत मंगलबार दायर रिटबारे बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले विचार गर्दा, विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै दुबै पक्षसँग छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरिएको थियो।
सर्वोच्च अदालतले निवेदकले माग गरेको अन्तरिम आदेश जारी नगर्ने निर्णय किन गरिन्छ भन्ने स्पष्ट कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। यसैगरी, मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको निर्णय र मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजातहरू आइतबारको पेशीमा पेश गर्न भनिएको छ।
मुद्दा दायर गर्ने ७४ सांसदले प्रदेश प्रमुख, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री सरोजकुमार यादव, मुख्यमन्त्रीको कार्यालय, सभामुख रामचन्द्र मण्डल र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्