नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन दिनका सबै टिकट बिक्री भइसकेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको लिगको पहिलो दिनको खेलप्रति दर्शकको उत्साह निकै उच्च देखिएको छ।
प्रहरीका अनुसार आजका खेलका सबै टिकट ‘सोल्ड आउट’ भइसकेकाले टिकट नलिएका व्यक्तिहरू मैदान वरपर भीडभाड नगर्न अनुरोध गरिएको छ। भीड व्यवस्थापन, सुरक्षाको सहजता र मैदान परिसरमा अव्यवस्था नहोस भन्ने उद्देश्यले यस्तो सूचना जारी गरिएको प्रहरी परिसरले स्पष्ट पारेको छ।
जारी सूचनामा भनिएको छ, “मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित टीयू खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकट सोल्ड आउट भएपछि टिकट नभएका महानुभावहरूले मैदान परिसर वरपर भीड नगरी सुरक्षामा सहयोग गर्न अनुरोध गरिन्छ।”
उद्घाटन खेलमा दर्शकभीड अत्यधिक हुने अनुमानसँगै प्रहरीले सुरक्षा व्यवस्थापन कडा बनाएको छ। एनपीएल दोस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्