नेचासल्यानदेखि ‘पिके पिक’सम्मको यात्रा जो–कोहीका लागि जीवनभर सम्झन लायक अनुभव बन्न सक्छ । मार्गभर फैलिएका सयौँ वर्ष पुराना रुख, वास्नादार दुर्लभ वनस्पतिहरू, उच्च पहाडी भू–दृश्य तथा हातैको दूरीमा देखिने हिमशृंखला यात्रुहरूलाई पहिलो क्षणदेखि नै मोहित पार्छन्।
४०६८ मिटर उचाइमा अवस्थित ‘पिके पिक’ पुग्न शारीरिक रूपमा केही चुनौतीपूर्ण भए पनि, शिखरबाट देखिने सूर्योदयको सुनौलो चमक, चारैतिर फैलिएको हिमाली भ्यू र शान्त वातावरणले यात्राको सबै कष्टलाई क्षणभरमै भुलाइदिन्छ।
यिनै दृश्यहरूको अनुभूति साझा गर्दै फेसबुकमा फोटोहरू सार्वजनिक गर्दै सुवास भण्डारीले ‘पिके पिक’ले यात्रा पूर्ण रूपमा सार्थक बनाइदिएको प्रतिक्रिया दिएका छन्।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अवस्थित ‘पिके पिक’ हाल देश–विदेशका पर्यटकहरूका बीच छिटो–छिटो लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदैछ । प्रकृतिको शुद्धता, हिमाली शृंखलाको भव्यता र अनौठो सूर्योदय दृश्य हेर्न चाहनेका लागि यो स्थान उत्कृष्ट विकल्प बनिरहेको छ।
फोटो : सुवास भण्डारी/फेसबुक

प्रतिक्रिया दिनुहोस्