गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको पुष्टि भएको छ।
विभागका कर्मचारीहरूले वेबसाइटमा अनधिकृत पहुँच देखिएपछि सेवा पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएका छन्। वेबसाइट ह्याक भएपछि राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवा ठप्प बनेका छन्, जसका कारण सेवाग्राही प्रभावित भएका छन्।
ह्याकरले आफूलाई ‘नेपाली फर नेपाल’ नामक समूहका रूपमा चिनाउँदै वेबसाइटमा सन्देश प्रष्ट रूपमा पोस्ट गरेको छ। उक्त सन्देशमा आफूलाई “राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था” भन्दै परिचय दिइएको छ।
सबैभन्दा विवादास्पद त, ह्याकरले २४ घण्टाभित्र ‘नागरिक बचाउ माअभियान’का अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ। साथै विभागको एडमिन प्यानल तथा सम्पूर्ण डाटामा पहुँच लिएको दाबी पनि सन्देशमार्फत गरिएको छ।
विभागले भने ह्याकिङको प्रकृति, डाटामा वास्तविक क्षति भएको–नभएको र सेवाको पुनःस्थापना कहिलेदेखि हुने भन्नेबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन। सुरक्षा एजेन्सीहरूले यस घटनालाई उच्च जोखिमका रूपमा लिएर थप छानबिन भइरहेको बताइएको छ।
यस घटनाले राष्ट्रिय डाटा सुरक्षा, साइबर सुरक्षा तथा संवेदनशील सरकारी प्रणालीको संरक्षणबारे गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया दिनुहोस्