नेकपा एमालेका महासचिव शंकर पोखरेल बारा जाने तय भएपछि सिमरामा तन्किएको तनावले शुक्रबार दिउँसो झडपको रूप लिएको छ। पोखरेलको स्वागतका लागि विमानस्थलमा भेला भएका एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइका साथ कर्फ्यू आदेश जारी गरेको छ।
बारा जिल्ला प्रशासन कार्यालयले दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म सिमरा क्षेत्रसमेत पर्ने केही स्थानमा कर्फ्यू लागू गरेको हो। झडपका कारण सिमरा विमानस्थल बन्द गरिएपछि महासचिव पोखरेल काठमाडौं विमानस्थलमै रोकिएका छन्। उनका स्वकीय सचिव सरोज रेग्मीका अनुसार विमानस्थल खुलेपछि मात्रै टोली बारा जानेछ। पोखरेलसँगै एमाले नेता भानुभक्त ढकाल, महेश बस्नेतलगायत पनि यात्रामा थिए। उनीहरू जेनजी युवाहरूको कार्यक्रममा सहभागी हुन बारा जाँदै थिए।
जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसम्बद्ध समूहबीचको तनाव तीव्र बनाएपछि सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ।
गण्डक नहरदेखि पथलैया सडकखण्ड : राजमार्गको दायाँ–बायाँ ५०० मिटर
सिमरा विमानस्थल परिसर : चारैतिर ५०० मिटर परिधि
कर्फ्यू अवधिमा अत्यावश्यक सेवा, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, कूटनीतिक नियोगका सवारी तथा हवाई टिकट बोकेका यात्रुहरूको आवतजावत सुरक्षाकर्मीले व्यवस्थित रूपमा गरिने प्रशासनले स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको आदेशमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, प्रदर्शन, जुलुस, सभा वा बैठक पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। प्रशासनले परिस्थितिलाई नियन्त्रणमा ल्याउन सबैले कर्फ्यू आदेश कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्