Ads

‘बोलेकै आधारमा थुन्न मिल्दैन’—दुर्गा प्रसाईंलाई छोड्न ओलीको आग्रह


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति पक्राउ परेका नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्। एमाले पार्टी कार्यालय च्यासलमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको अन्तरक्रियामा ओलीले सरकारको चरित्र ‘स्वेच्छाचारी’ बन्दै गएको आरोप समेत लगाए।

जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नुस्। बोल्नै नपाउने पनि हुन्छ?” ओलीले प्रसाईंलाई बोलेको विषयलाई आधार मानेर थुन्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको दाबी गरे।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गठन भएपछि मानव अधिकार आयोगले समेत ‘बोलेकै भरमा कसैलाई बन्दी बनाउन पाइँदैन’ भन्ने धारणा राखेको स्मरण गराउँदै ओलीले प्रसाईंको गिरफ्तारी गलत भएको जिकिर गरे।

प्रसाईंले सार्वजनिक गरेको एक भिडियोको कारण पक्राउ गरिएको भन्दै ओलीले प्रश्न गरे— “दुर्गा प्रसाईंले एउटा भिडियो निकाले, दिउँसो निस्कियो, बेलुका समातियो। यो के हो?”

ओलीका अनुसार प्रसाईंमाथिको धरपकड सरकारको अराजक शैली र असहिष्णुताको उदाहरण हो, जसले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने खतरा छ।

Ads

सम्बन्धित पोष्टहरू