घना जंगलको बीच पहाडको टाकुरामा बसेको तीनचुले पूर्व–उत्तरपट्टि हुँदै फैलिएका हिमशृङ्खला, शान्त वातावरण र एकान्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो। एकै स्थानबाट सूर्योदय–सूर्यास्त, नदी–पहाडदेखि हिमालका चुलीहरूसम्मको दृश्य अवलोकन गर्न सकिने यो क्षेत्र चराचुरुङ्गीको चिरबिर आवाजले थप मोहक बन्छ।
म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले २,९३२ मिटर उचाइमा अवस्थित छ। हिमशृङ्खला, ग्रामीण बस्ती र पहाडी भूगोलका मनोरम दृश्यका कारण आकर्षक भए पनि यसको सौन्दर्य अझै स्थानीयस्तरमै सीमित रहेको समितिका अध्यक्ष धनबहादुर घर्तीले बताए।
तीनचुलेको बराहतालमा वर्षेनी कात्तिक शुक्ल पूर्णिमाका दिन तोरण तार्ने धार्मिक मेला लाग्ने परम्परा छ। ताराखोला र मंगला क्षेत्रका स्थानीय यो मेलामा अनिवार्य उपस्थिति जनाए पनि अन्य समय पर्यटकको आगमन न्यून रहेको घर्तीले बताए। शिवालय मन्दिरमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वास छ।
स्थानको नामकरणसम्बन्धी किंवदन्तीअनुसार, चुलोको आकार दिने गरी तीनवटा ढुङ्गाका थुप्रा भेटेपछि गोठालेहरूले यसस्थानलाई ‘तीनचुले’ नाम दिएका थिए। शान्त र एकान्त ठाउँ भएकाले प्राचीन समयमा ऋषिमुनि यहाँ तपस्या गर्न आउने गरेको भनाइ पाइन्छ।
बराहतालको विशेषता भनेकै वर्षा–विपद्मा पनि नसुक्ने पानी र अदृश्य स्रोत हो, जसले यसलाई धार्मिक आस्थासँगै रहस्यमय पनि बनाएको छ।
तीनचुलेबाट धवलागिरि, गुर्जा, सिस्ने, चुरेन, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिन्छ। सिस्नेदेखि माछापुच्छ्रे रेन्जसम्मको हिमाल देखिने ठूला दृश्य–बिन्दु धेरै नभएकाले तीनचुले दुर्लभ अवलोकनस्थल मानिन्छ।
मंगला, मालिका र धवलागिरि गाउँपालिकाका रमणीय बस्ती, नागबेलीझैँ बगेको म्याग्दी नदी, पहाडी भूगोल र सनसान वातावरण यसको थप आकर्षण हुन्।
हालका वर्षहरूमा तीनचुलेमा आवश्यक पूर्वाधार विस्तारमा तीव्रता आएको छ।
ताराखोला गाउँपालिकाको २० लाख बजेटमा शिवालय मन्दिर पुनर्निर्माण र २१० मिटर स्लेट ढुङ्गाको पदमार्ग निर्माण।
स्थानीय चन्दाबाट माझखर्कमा वनभोज तथा आश्रयस्थल निर्माण।
गण्डकी प्रदेश सरकारको ७५ लाख र ताराखोलाको १० लाख लगानीमा पाँच किलोमिटर मोटरबाटो निर्माण, जसले दुई घण्टाको दूरी २० मिनेटमा झारेको छ।
मंगला–५ देउरालीबाट तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण।
प्रदेश सरकारको २१ लाखमा सौर्य ऊर्जा योजना, २,२०० मिटर पाइपलाइन र ५,००० लिटर ट्यांकीमार्फत खानेपानी उपलब्ध।
सामाजिक सञ्जालमार्फत तीन लाख संकलन गरी दृश्यावलोकनस्थल निर्माणको पहल।
तीनचुले म्याग्दीको अर्मन वा बागलुङको ताराखोला दुवैतर्फबाट पुग्न सकिन्छ।
बाबियाचौर–किमचौर मार्ग हुँदै करिब दुई घण्टाको कच्ची सडक यात्रा।
दोगाडी, नागबेलीखोला–माझखर्क हुँदै पुग्ने थप सहज बाटो।
मार्गमा स्थानीय बासिन्दाले पाहुनालाई खाजा–खाना उपलब्ध गराउने परम्परा छ। ‘क्यापिङ’ र छोटो पदयात्राका लागि यो क्षेत्र उपयुक्त मानिन्छ। यहाँ मगर समुदायको बसोबास भएकाले उनीहरूको संस्कृति, रहनसहन र मेलाजात्राको अनुभव पनि लिन सकिन्छ।
तीनचुले बागलुङ–म्याग्दीबीचको सम्बन्ध सुदृढ बनाउने सेतुका रूपमा विकसित हुँदैछ। सीमाक्षेत्रका अन्य प्राकृतिक गन्तव्यमा विवाद भए पनि तीनचुले विकासमा दुवै पालिकाको सहकार्यले सकारात्मक सन्देश दिएको छ।
ताराखोला गाउँपालिकाले सहिद पार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने गुरिल्ला पदमार्ग विकास सुरु गरेको छ भने मंगला गाउँपालिकाले छिमेकी पालिकासँग मिलेर ७–१० दिनको नयाँ पदमार्ग निर्माण योजना अघि सारेको छ।
अध्यक्ष सतप्रसाद रोकाका अनुसार, तीनचुलेलाई केन्द्र बनाएर पदमार्ग, पूर्वाधार र सेवा–सुविधा विकास गर्न सके ग्रामीण क्षेत्रमा रोजगारी र आयआर्जन बढ्ने सम्भावना उच्च छ।
प्रतिक्रिया दिनुहोस्