पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का पूर्वउपाध्यक्ष जनार्दन शर्मा र रास्वपाबाट अलगिएका सन्तोष परियार नेतृत्वको समूहबीच आज (आइतबार) औपचारिक एकता घोषणा गरिँदै छ।
राष्ट्रिय सभा गृहमा बिहान ११ बजे संयुक्त घोषणा सभा आयोजना गर्ने तयारी पूरा भएको छ। सो अवसरमा उनीहरूले नयाँ राजनीतिक दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गरेको औपचारिक जानकारी सार्वजनिक गर्नेछन्। पार्टी चुनाव आयोगमा पहिले नै दर्ता भइसकेको स्रोतले जनाएको छ।
नवगठित दलले नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ चिन्ह निरन्तरता दिने निर्णय लिएको बताइएको छ। तर, दलको आधिकारिक झण्डा भने अझै तय भइसकेको छैन। यसका लागि आन्तरिक छलफल जारी रहेको छ।
महाधिवेशन सम्पन्न नहुँदासम्म करिब पाँचदेखि छ सदस्यीय अध्यक्षमण्डल गठन गरी पार्टी सञ्चालन गर्ने सहमति भएको छ। नयाँ संरचनामा विभिन्न क्षेत्र, समुदाय र पृष्ठभूमिबाट प्रतिनिधित्व सुनिश्चित गरिने बताइएको छ।
एकता घोषणाअघि तीनै पक्षले आ–आफ्ना भेला तथा अन्तिम तयारीका बैठकहरू सकाएका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा,परियार समूहले आफ्नै कार्यकर्ताहरूसँग छुट्टाछुट्टै छलफल गरी एकताको प्रतिवद्धता सार्वजनिक गरेका छन्।
दल दर्तादेखि चिन्ह चयनसम्मका विषयलाई लिएर केही समयदेखि भइरहेको समन्वय आजको घोषणा पछि औपचारिक रूपले एकीकृत राजनीतिक स्वरूपमा रूपान्तरण हुँदैछ।

प्रतिक्रिया दिनुहोस्