Ads

एमाले ११औँ महाधिवेशन प्रतिनिधि छनोट : संगठन विभागद्वारा पाँच बुँदे कडाइकाे निर्देशन


नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया नजिकिँदै गर्दा पार्टीको संगठन विभागले पाँच बुँदे कडा र स्पष्ट निर्देशन जारी गरेको छ। पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार विभागको भर्चुअल बैठकले हिजो साँझ महाधिवेशनमा जानुपर्ने निर्वाचन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन महत्वपूर्ण निर्देशहरू सार्वजनिक गरेको हो।

निर्देशनअनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने छ। यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार मान्न सबै तहका कमिटीलाई आग्रह गरिएको छ।
प्रकाशित मतदाता सूची र त्यसको अन्तिम संख्या तत्काल केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने स्पष्ट निर्देश जारी गरिएको छ।

पार्टीभित्र सर्वसम्भाव्य सहमतिको वातावरण निर्माण गर्न १२ मंसिरसम्म अन्तिम प्रयास गर्न भनिएको छ। यदि सहमति नजुटेमा १३ मंसिरमा अनिवार्य रूपमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्नुपर्ने विभागले निर्देश गरेको छ। यसरी प्रतिनिधि चयन प्रक्रिया कुनै बहानामा स्थगित गर्न नपाइने उल्लेख गरिएको छ।

केही जिल्लामा प्रतिनिधि उम्मेदवारी दर्ता शुल्क अत्यधिक उठाइएको जानकारी आएपछि विभागले प्रत्यक्ष हस्तक्षेप गर्दै शुल्क अधिकतम १ हजार रुपैयाँभन्दा बढी नलिन कडाइका साथ आदेश दिएको छ।
त्यसैगरी प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रहरूमा खटाइएका पार्टी नेताहरूलाई समयमै कार्यक्षेत्रमा पुगेर समन्वय तथा सहजीकरणमा सक्रिय भूमिका खेल्न निर्देशन गरिएको छ।

पार्टीको ११औँ महाधिवेशन आगामी २७ देखि २९ मंसिर काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि १३ मंसिरमा देशका सबै जिल्लामा तथा प्रवासका संगठनहरूमा एकैदिन प्रतिनिधि छनोट हुनेछ। यस महाधिवेशनमा करीब २२ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू