Ads

“महाधिवेशन पूर्वसन्ध्यामा भण्डारीको स्पष्ट सन्देश– ‘म अभिन्न सदस्यकै रूपमा साथमा छु’”


नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आउन थोरै दिन बाँकी रहँदै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीभित्र भइरहेको प्रतिनिधि छनोट प्रक्रिया संवेदनशील र उत्तरदायित्वपूर्ण ढङ्गले अघि बढाउने अपेक्षा व्यक्त गरेकी छन्।

आज सार्वजनिक गरेको विज्ञप्तिमा उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा एमालेले निर्वाह गर्नुपर्ने भूमिकालाई ऐतिहासिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै महाधिवेशन सफलताका लागि सबै तह–स्तर सक्रिय र अनुशासित रहनुपर्ने बताइन्।

भण्डारीले भनिन्— “मैले दुई वर्षअघि नै विधानअनुसार नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतामा नेतृत्वले कृत्रिम अवरोध खडा गरेका कारण यो महाधिवेशनमा मेरो भौतिक उपस्थिति छैन। तर पार्टी परिवारको अभिन्न सदस्यका रूपमा म सधैँ तपाईंहरूसँग नै रहनेछु।”

उनले विशेष परिस्थितिका कारण निर्धारित अवधिभन्दा एक वर्षअघि महाधिवेशन हुन लागेको उल्लेख गर्दै यस प्रक्रियाले पार्टीलाई वैचारिक तरंग, संगठनात्मक सुदृढीकरण र नेतृत्व पुस्तान्तरणको महत्वपूर्ण मोडमा पुर्‍याएको बताइन्।

उनका अनुसार महाधिवेशन प्रतिनिधि छनोटमा अनुभव, वैचारिक परिपक्वता, युवा पुस्ताको ऊर्जा तथा विभिन्न क्षेत्र, वर्ग र समुदायको संतुलित सहभागिता सुनिश्चित गर्नु पार्टी सबलीकरणको आधार हो।

भण्डारीले थप भनिन्— “राष्ट्रवाद, जनताको प्रगतिशील आकांक्षा र देशभक्तिपूर्ण राजनीतिक मार्गदर्शनका धरोहरको रूपमा एमालेले निभाउँदै आएको भूमिकालाई अझ सुदृढ र प्रभावकारी बनाउनु यही महाधिवेशनको प्रमुख लक्ष्य हो।”

त्यसैगरी उनले पार्टी नेतृत्वदेखि तल्लो तहसम्म सबैलाई एकता, अनुशासन र निष्ठाको आधारमा महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरिन्।

अन्त्यमा उनले सम्पूर्ण पार्टी सदस्य, नेता–कार्यकर्ता तथा देशभरका शुभेच्छुकप्रति शुभकामना व्यक्त गर्दै भनिन्—
“देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको भरोसाको केन्द्र बनेको नेकपा (एमाले)को यो ऐतिहासिक महाधिवेशन पूर्ण सफल होस्— यही मेरी अन्तरमनको कामना छ।”

Ads

सम्बन्धित पोष्टहरू