प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता घोषणालाई नेपालको विकास–समृद्धिको यात्रामा एउटा महत्वपूर्ण ‘कोशेढुङ्गा’ सावित हुने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार आयोजित एनआरएनएको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा बसोबास गर्दै आएका नेपालीहरूको योगदान तथा भावनालाई उच्च सम्मानका साथ स्मरण गरिन्।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीहरू जहाँ बसे पनि ‘म नेपाली हुँ’ भन्ने पहिचान, प्रतिबद्धता र मातृभूमिप्रति अनन्य निष्ठा बोकेर अघि बढेका उदाहरण प्रशंसनीय भएको उल्लेख गर्दै, राष्ट्रको विकासमा ज्ञान, सीप, अनुभव र पूँजीमार्फत अझ प्रबल योगदान दिन उनीहरूलाई आह्वान गरिन्।
उनले भनिन्, “विदेशमा बसेर परिश्रम गर्दा नेपालीले दुःख–संकट व्यहोर्नुपर्छ, तर त्यही मेहनतले सफलता दिलाउँछ। तपाईँहरूको माटोप्रति माया अझ गाढा छ भन्ने मैले महसुस गरेकी छु। आफ्नो देशका लागि सक्ने काम, सक्ने योगदान गर्नुस्—राष्ट्र यतिखेर तपाईँहरूमाथि आशाभरि हेर्दै छ।”
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान तथा कानुनले प्रदान गर्ने हक–सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पुनः स्पष्ट पारिन्।
समकालीन राजनीतिक पक्षमा टिप्पणी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदामा परेका क्षतिलाई ‘शान्त तलाउमा ढुङ्गा हानिएझैँ’ भएको परिस्थितिका रूपमा वर्णन गरिन्। “यसको गम्भीर मूल्याङ्कन आवश्यक छ,” उनले जोड दिँदै, मुलुकको समग्र हित, स्थायित्व र विकासका लागि एनआरएनए तथा सम्पूर्ण नेपालीको रचनात्मक भूमिका अपरिहार्य भएको बताइन।
निर्वाचन र लोकतान्त्रिक अभ्याससम्बन्धी विषयमा प्रधानमन्त्री कार्कीले हार–जितलाई जनादेशको स्वाभाविक रूप भन्दै, “हार्नेले जित्नेलाई काम गर्न दिनुपर्छ। अर्को अवसरका लागि आफूलाई योग्य बनाउँदै अघि बढ्नुपर्छ,” भन्ने सन्देश प्रवाह गरिन्।
एनआरएनएको एकता केवल संस्थागत मिलन मात्र नभई देशभक्ति, सहकार्य र साझा लक्ष्यप्रति दृढ भएको उदाहरण रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले पनि यस एकताबाट सिक्न सक्ने कुरामा विशेष जोड दिँइन्।
प्रतिक्रिया दिनुहोस्