विराटनगर आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आयोजित ‘एकता सन्देश सभा’ का कारण राजनीतिक रूपमा असाधारण रूपमा चहल–पहलयुक्त बनेको छ।
सातै प्रदेशमा एकताको सन्देश फैलाउने अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय सभा आज जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको विशाल मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ।
स्थानीय नेताहरूका अनुसार सभामा प्रदेशभरिबाट करिब १० हजारभन्दा बढी समर्थक सहभागी हुने अनुमान गरिएको छ, जसलाई नेकपाले प्रदेशस्तरमा आफ्नो संगठनात्मक ऊर्जा र एकीकृत जनसमर्थनको प्रदर्शनका रूपमा प्रस्तुत गर्न चाहेको देखिन्छ।
कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावललगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन्। नेताहरूले एकताका कारणहरू, आगामी राजनीतिक बाटो तथा दल एकतापछि पार्टीको भावी संरचनाबारे सन्देश दिने अपेक्षा गरिएको छ।
यसअघि नेकपाले धनगढी, लमही र पोखरामा एकता अभियानअन्तर्गतका सभा सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कर्णाली प्रदेशस्तरीय सभा भने सुरुआतमा मंसिर १८ मा सुर्खेतको वीरेन्द्रनगरमा तय भए पनि प्राविधिक कारणवश मंसिर २७ मा सारिएको छ।
प्रदेश–प्रदेशमा आयोजित यिनै सभामार्फत नेकपा पुनर्गठित नेतृत्वद्वारा जनशक्ति, संगठन र सन्देशलाई देशव्यापी रूपमा सुदृढ बनाउने रणनीतिमा अघि बढेको संकेत मिलेको छ।
प्रतिक्रिया दिनुहोस्