गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तोकिएकै मितिमा निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन अवश्य हुने स्पष्ट सन्देश दिए।
‘यो सरकारको मुख्य कार्य सुशासन कायम गर्नु र निर्धारित समयमा चुनाव सम्पन्न गर्नु हो। हामी म्यान्डेट नै चुनावका लागि पाएका हौँ,’ मन्त्री अर्यालले भने, ‘सुरक्षा संयन्त्रहरू पूर्ण रूपमा सक्रिय छन्, कुनै पनि परिस्थितिमा तोकिएको समय तालिका परिवर्तन हुँदैन।’
उनले देशभर राजनीतिक दलहरूले निर्वाध रूपमा चुनावी क्रियाकलाप गर्न पाउने वातावरण निर्माण सरकारको प्राथमिकता भएको उल्लेख गर्दै ‘साझा सरकार भएकाले कसैप्रति विभेद नहुने’ बताए।
गोष्ठीमा बोलेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई पुनः स्थायित्व र ट्र्याकमा फर्काउने एकमात्र मार्ग निर्वाचन भएको बताउँदै, ‘फागुन २१ गतेको निर्वाचन अवश्य हुनैपर्छ, यसको विकल्प छैन,’ भने।
उनले सबै पक्ष मिलेर चुनावमैत्री वातावरण निर्माण गर्न एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुरक्षा स्थिति अझै सन्तोषजनक नभएको उल्लेख गर्दै केही जिल्लामा राजनीतिक गतिविधिमा बाधा–अवरोध देखिएको बताए।
‘गृह मन्त्रालयले राजनीतिक दलहरूसँग थप संवाद र समन्वय विस्तार गर्नुपर्छ,’ उनले सुझाव दिए।
उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा जिल्लागत र प्रदेशगत सुरक्षा अवस्था, अपराध नियन्त्रणका चुनौती, सीमा व्यवस्थापन, र आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा संरचनाबारे विस्तृत प्रस्तुतिकरण भइरहेको छ।
दोस्रो सत्रमा गृह मन्त्रालयतर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखले प्राविधिक प्रस्तुति दिनेछन्। त्यसपछि सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका प्रमुख सचिव, मन्त्रीहरू र गृहमन्त्रीका मन्तव्यहरू रहनेछन्। अन्त्यमा गृहसचिव रामेश्वर दंगालले कार्यक्रम समापन गर्नेछ।
गोष्ठीमा गृहसचिव दंगाल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीको उच्चस्तरीय उपस्थिति रहेको छ।
गोष्ठीको मुख्य उद्देश्य प्रदेशको समग्र सुरक्षा चित्र, आगामी निर्वाचनका सम्भावित जोखिम तथा समाधानका रणनीतिबारे गहन छलफल गर्नु हो।
प्रतिक्रिया दिनुहोस्