काठमाडौं । नेपालको संसदीय इतिहासका कैयौं उतार–चढावका साक्षी बनेको सिंहदरबार नजिकै अवस्थित ‘ग्यालरी बैठक भवन’—जो ‘ऐना भवन’का नामले समेत परिचित छ—२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो। तर यसको सुदृढीकरण (रेट्रोफिटिङ) कार्य सहमति भएको समयमै सम्पन्न नहुने भएको छ।
विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले भवन रेट्रोफिटिङका लागि प्रेरा निर्माण सेवा प्रालिसँग गत जेठ ६ गते ३९ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८२ मंसिर ६ भित्र काम सकिनुपर्ने भए पनि कार्य प्रगति ढिलो भएकाले समयमै पूरा नहुने संकेत देखिएको हो।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको यो भवन पुराना तथा फालफूल सामान थुपार्ने गोदामजस्तै बन्न पुगेको थियो। त्यसपछि २०७९ चैत ९ गते राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले यसलाई सांस्कृतिक, ऐतिहासिक तथा वास्तुकलागत सम्पदा मानी संरक्षण तथा उपयोग गर्न निर्देशन दिएको थियो।
वि.सं. १९६५ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विदेशी पाहुनामाथि राणाशैलीको वैभव प्रदर्शन गर्न विशेष ‘थिएटर’ शैलीमा निर्माण गराएको यो भवन भित्ताभरिका ‘ऐना’का कारण ‘ऐना भवन’का रूपमा प्रसिद्घ थियो। रात्रिभोज, नाच–गान र दरबारिया मनोरञ्जनका कार्यक्रम यही भवनमा आयोजना गरिन्थे।
००७ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि ग्यालरी बैठक भवनले नयाँ राजनीतिक भूमिकाहरू निभाउन थाल्यो। सल्लाहकार सभा यहीं बस्यो भने २०१६ असार १६ मा पहिलो संसदीय बैठक पनि यही भवनमै बसेर नेपालका लोकतान्त्रिक प्रक्रियाको नयाँ यात्रा तय गरियो।
यस्तै, २०२० वैशाख १ मा राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशन पनि यही ठाउँमा सम्पन्न भयो। २०४८ सालको चुनावपछि पनि यसले संसद् भवनको जिम्मेवारी वहन गरिरह्यो। २०६३ मा अन्तरिम संसद् गठन भएपछि १५ वैशाखमा माओवादीसहितको पहिलो ऐतिहासिक बैठक पनि यही भवनले आत्मसात् गर्यो।
तर २०६४ को संविधानसभा चुनावपछि ६०१ सदस्य बसेर बैठक चलाउन ठाउँ अभाव हुँदा संसद् वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सारियो। २०७२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’का क्रममा आगजनीका कारण यो भवन पूर्णरूपमा जीर्ण बनेको थियो।
हाल सिंहदरबार परिसरमै नयाँ संघीय संसद् भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैबीच ग्यालरी बैठक भवनलाई संसदीय संग्रहालयका रूपमा विकास गर्नुपर्ने माग बलियोसँग उठिरहेको छ। तर सरकार भने यसलाई ‘स्टेट गेस्ट हाउस’, ‘स्टेट ब्यांक्वेट’ वा ‘सेमिनार हल’का रूपमा उपयोग गर्ने तयारीमा रहेको छ।
ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक महत्वले भरिएको यो भवन पुनः सुरक्षित र उपयोगमूलक रूपमा फर्कन सक्ने कि नसक्ने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
-1765164544.jpg)
-1765164542.jpg)
-1765164540.jpg)
-1765164539.jpg)
-1765164534.jpg)
-1765164529.jpg)
-1765164528.jpg)
-1765164522.jpg)
-1765164519.jpg)
-1765164516.jpg)
-1765164513.jpg)
-1765164511.jpg)
प्रतिक्रिया दिनुहोस्