नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि पहिलोपटक लुम्बिनी लायन्सले जित्दै इतिहास रचेको छ । फाइनल खेलसँगै प्रतियोगिताको औपचारिक समापन भएको हो ।
सम्पूर्ण प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले उक्त उपाधिसँगै अमोडा जेनेका जे–५ कार पुरस्कार प्राप्त गरेका छन् । रोहितले ब्याटिङ र कप्तानी दुवै भूमिकामा टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए ।
फाइनलमा पराजित सुदूरपश्चिम रोयल्स उपविजेता बनेको छ भने विराटनगर किंग्स तेस्रो र काठमान्डु गोर्खाज चौंथो स्थानमा सीमित भए ।
प्रतियोगिताका विभिन्न विधागत पुरस्कारहरूमा पनि खेलाडीहरूको प्रभावशाली प्रदर्शन देखिएको छ । सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी घोषित हुँदै बजाज पल्सर बाइक जित्न सफल भए । उदीयमान खेलाडीको रूपमा शेर मल्ल ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेर बजाज पल्सर बाइकबाट सम्मानित भए ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट ब्याटरको उपाधि पनि रोहित पौडेलले नै हात पारेका छन् । ‘इनरजेटिक प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार अभिनाश बोहराले प्राप्त गर्दै दुई लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
एनपिएल २०२५ का प्रमुख नतिजा तथा पुरस्कारहरू:
विजेता: लुम्बिनी लायन्स – १ करोड ११ लाख रुपैयाँ
उपविजेता: सुदूरपश्चिम रोयल्स – ५१ लाख रुपैयाँ
तेस्रो स्थान: विराटनगर किंग्स – २५ लाख रुपैयाँ
चौंथो स्थान: काठमान्डु गोर्खाज – १५ लाख रुपैयाँ
प्लेयर अफ द टुर्नामेन्ट: रोहित पौडेल – अमोडा जेनेका जे–५ कार
सर्वाधिक विकेट लिने खेलाडी: सन्दीप लामिछाने – बजाज पल्सर बाइक
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट: शेर मल्ल – बजाज पल्सर बाइक
उत्कृष्ट ब्याटर: रोहित पौडेल – बजाज पल्सर बाइक
इनरजेटिक प्लेयर अफ द टुर्नामेन्ट: अभिनाश बोहरा – २ लाख रुपैयाँ
एनपिएलको पहिलो संस्करणमै लुम्बिनी लायन्सको ऐतिहासिक उपाधि जितले नेपाली घरेलु क्रिकेटमा नयाँ उत्साह र सम्भावनाको संकेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्