Ads

सुनको भाउ हालसम्मकै महँगो


आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । दुई महिनाअघिको रेकर्ड तोड्दै सुनको भाउ नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर सुनले रेकर्ड बनाएको थियो, जसलाई आजको मूल्यले पार गरेको हो ।

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको छ । शनिबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यले अझै नयाँ रेकर्ड तोड्न सकेको छैन । कात्तिक ३ गते (अक्टोबर २०) प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ हाल करिब ४ हजार ३ सय अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ । तिहार बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा सुनको मूल्य समायोजन हुन नसकेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अमेरिकी डलरको मूल्यवृद्धिको असरका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य छिटो नयाँ रेकर्डमा पुगेको हो ।

यता, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य निरन्तर उकालो लाग्दा गहना व्यवसाय र उपभोक्तामा प्रभाव परेको व्यवसायीहरूले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू