Ads

निर्णायक घडीमा शंकर पोखरेलको सन्देश : हामी जुट्यौँ, हामी जित्छौँ


नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको निर्णायक घडीमा महासचिव पदका उम्मेदवार तथा पार्टीका प्रभावशाली वैचारिक नेता शंकर पोखरेलले सार्वजनिक गरेको उत्साहजनक सन्देशले महाधिवेशनको वातावरणलाई थप ऊर्जा दिएको छ। कुशल संगठकका रूपमा परिचित पोखरेलको सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले अर्थपूर्ण र समयसापेक्ष भन्दै विशेष चासोका साथ लिएका छन्।

पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको संरक्षणमा सधैँ चट्टानी अडान राख्दै आएका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीको भाव प्रकट गरेका हुन्। उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘हामी जुट्यौँ, हामी जित्छौँ। पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको सामूहिक कार्यभार हो।’

पोखरेलको सन्देशले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि गहिरो विश्वास व्यक्त गरेको छ। सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट संकेत उनले दिएका छन्।

‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ भन्ने उनको दोहोरिएको आह्वानले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण र एकतामुखी बनाएको छ। निर्वाचनको अन्तिम चरणमा आएको यस सन्देशलाई एमालेभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र मूल नेतृत्वप्रतिको भरोसाको प्रतीकका रूपमा हेरिएको छ।

यसअघि पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका थिए। प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका सन्दर्भमा समेत दूरगामी महत्त्व बोकेको ऐतिहासिक क्षण भएको उल्लेख गरे।

उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको दिशामा अघि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै, आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदका उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू