नेकपा (एमाले) का वरिष्ठ नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित, प्रभावकारी र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्णायक चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै पौडेलले वर्तमान घडी पार्टीका लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका हुन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले पार्टीको भावी दिशा तय गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूको काँधमा रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘हामी यति बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ। पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोड्न नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ।’
पौडेलले पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनसम्पर्कलाई थप मजबुत बनाउँदै अघि बढ्नु आजको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्। नेतृत्व चयनले आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने भएकाले विवेकपूर्ण निर्णय आवश्यक रहेको उनको भनाइ छ।
यसै सन्दर्भमा उनले आफू पार्टीको उपाध्यक्ष पदका उम्मेदवार रहेको जानकारी गराउँदै महाधिवेशन प्रतिनिधिहरूलाई समर्थन र विश्वासका साथ मत दिन आग्रह गरेका छन्। अनुभवी नेतृत्व, सन्तुलित निर्णय क्षमता र संगठनप्रतिको प्रतिबद्धताका आधारमा आफूले पार्टीलाई अझ मजबुत बनाउने योगदान दिन सक्ने विश्वास उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्