Ads

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि


धरौटीमा रिहा हुन उच्च अदालत तुलसीपुरको इजलासबाट आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जाँदैछन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बैंक जमानतमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि हिजै रिहा हुने अपेक्षा गरिए पनि छुट पुर्जी प्राप्त नभएकाले लामिछाने आज रिहा हुन लागेका हुन्। सोही प्रयोजनका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भैरहवा हुँदै रुपन्देही प्रस्थान गर्दैछन्।

रुपन्देही जिल्ला अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनको औपचारिक थुनामुक्ति हुनेछ। सबै प्रक्रिया आजै सम्पन्न हुने र त्यसपछि लामिछाने रिहा हुने उनी निकट स्रोतले जनाएको छ।

यसअघि, अदालतबाट रिहा आदेश आएपछि बिहीबार उनका समर्थकहरू पञ्चेबाजासहित नख्खु कारागार पुगेका थिए।

Ads

सम्बन्धित पोष्टहरू