Ads

२१ फागुनमा चुनाव हुनुपर्छ भन्दै तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई शेखरको निर्देशन


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले प्रजातन्त्रको आधार नै निर्वाचन भएको उल्लेख गर्दै कांग्रेस पार्टी निर्वाचनमा सहभागी हुन पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

डा. कोइरालाले संविधानको रक्षा र मुलुकलाई सङ्क्रमणको अवस्थाबाट जोगाउन समयमै निर्वाचन अपरिहार्य रहेको बताए। उनले भने, “संविधान बचाउने र देशलाई सङ्क्रमणबाट मुक्त गर्ने एकमात्र उपाय निर्वाचन हो। हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुने–नहुनेमै आशंका उत्पन्न भएको छ।”

सरकारले निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न नसकेको आरोप लगाउँदै उनले सुरक्षा र कानुनी अवस्था अझै चिन्ताजनक रहेको बताए। “कतिपय दलका नेताहरूलाई काठमाडौंबाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू फरार छन्। यी विषयमा सरकारले के सोचिरहेको छ?” भन्दै उनले प्रश्न उठाए।

डा. कोइरालाले पार्टी पङ्क्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन्। कांग्रेसले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न निर्वाचनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू