Ads

मौलिक परम्परा र भेशभूषा जोगाउनुपर्नेमा प्रधानमन्त्रीकाे जोड


प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान बिर्सन नहुने बताएकी छन्। आधुनिकताका नाममा मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन भए पनि कर्मचारीहरूले आ–आफ्नो परम्परागत पोशाक लगाउने व्यवस्था उपयुक्त हुने धारणा राखिन्।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताको प्रभावमा आफ्नै मौलिकता बिर्सँदै गएको देखिन्छ। आफ्नो पहिचान के हो भन्ने थाहा नपाउने अवस्था आउनु दुःखद हो। तर हामी नेपालीहरूसँग विविध, समृद्ध र मौलिक संस्कृति छ। यसलाई जोगाउनु आजको आवश्यकता हो।”

उनले थपिन्, “सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन परम्परागत पोशाक लगाउने विषयमा गम्भीर रूपमा सोच्न सकिन्छ। यसले सांस्कृतिक पहिचानको संरक्षणसँगै राष्ट्रिय आत्मगौरव पनि बढाउँछ।”

भेटका क्रममा परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुसारको परम्परागत वेशभूषामा उपस्थित भएका थिए। उक्त वेशभूषाको प्रधानमन्त्री कार्कीले प्रशंसा गर्दै यसले सांस्कृतिक गौरव झल्काउने बताइन्।

संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरू समयक्रममा हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा, भाषा र वेशभूषा भने संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन्।

भेटका अवसरमा परिषद्ले आउँदो पुस १५ गते मनाइने तमु ल्होसारसम्बन्धी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई निम्तोपत्र वाचन गर्दै आमन्त्रण गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू