Ads

नियमित महाधिवेशन रोकिए विशेष महाधिवेशनको बाटो खुल्छ : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनमा अनावश्यक ढिलासुस्ती भए विशेष महाधिवेशन अपरिहार्य हुने चेतावनी दिएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यसअघि पनि करिब डेढ महिना महाधिवेशन प्रक्रिया अलपत्र पारिएको उल्लेख गर्दै अब महाधिवेशन सार्ने कुनै खेल स्वीकार्य नहुने स्पष्ट पारे ।

महामन्त्री थापाले पार्टी नेतृत्वप्रति लक्षित गर्दै भने, “हामी डेढ महिना अघि नै महाधिवेशनतर्फ लाग्न सक्ने अवस्थामा थियौँ । तर, जानाजान महाधिवेशन अलपत्र पारियो । अहिले पनि फेरि रोक्ने प्रयास भइरहेको छ । यदि नियमित महाधिवेशन रोक्ने खेल भयो भने विशेष महाधिवेशनको माग नेता–कार्यकर्ताबाट भइसकेको छ । फेरि पनि स्पष्ट भन्छु—नियमित महाधिवेशन हुन्छ, नभए विशेष महाधिवेशन हुन्छ । महाधिवेशन नगरी कांग्रेस चुनावमा जान सक्दैन ।”

कांग्रेसले यही पुस २७ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, महाधिवेशनअघि टुंग्याउनुपर्ने क्रियाशील सदस्यता लगायतका महत्वपूर्ण विषयमा अझै सहमति जुट्न सकेको छैन । कार्यतालिकाअनुसार पुस ७ पछि वडा तहको अधिवेशन सुरु गर्नुपर्ने भए पनि सदस्यता वितरणको कामसमेत पूरा नभएकाले पार्टीभित्र पुनः महाधिवेशन सार्ने तयारी भइरहेको संकेत देखिएको छ ।

संस्थापन पक्षको यस्तो तयारीप्रति असन्तुष्टि जनाउँदै थापाले समयमै महाधिवेशन सम्पन्न नगरे पार्टी र लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू