काठमाडौं । प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमल ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
मंसिर महिनामा अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन र नागरिकमैत्री सेवामा देखाएको उत्कृष्ट कार्यसम्पादनको आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले डीएसपी श्रीमललाई प्रशंसापत्र प्रदान गर्दै अपराध नियन्त्रण र अनुसन्धानमार्फत नागरिकमा सुरक्षा अनुभूति गराउन उनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका छन् ।
डीएसपी श्रीमलको नेतृत्वमा प्रहरी वृत्त गौशालाले श्रृंखलाबद्ध रूपमा सहकारी तथा वित्तीय संस्थामा चोरी गर्दै आएका कुख्यात अभियुक्त दीपक गुजेरललाई पक्राउ गर्न सफलता प्राप्त गरेको थियो । २३ पटकसम्म चोरी मुद्दामा संलग्न गुजेरललाई सिनामंगलस्थित राजश्री फाइनान्स चोरी प्रकरणमा पक्राउ गरी करिब १० लाख रुपैयाँ नगद बरामद गरिएको हो ।
सुन्धारा कारागारबाट फरार भई पुनः आपराधिक गतिविधिमा सक्रिय बनेका अभियुक्तलाई नियन्त्रणमा लिनु श्रीमलको उल्लेखनीय उपलब्धि मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्