Ads

कांग्रेस नेतृत्वमाथि दबाब बढ्यो, तीन पदाधिकारीले निर्वाचन नलड्ने घोषणा


आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका केही शीर्ष पदाधिकारी प्रतिस्पर्धामा नउत्रिने भएका छन्।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका हुन्।

महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेले यसअघि नै निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन्। उनीहरूले पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै यसपटकको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको बताएका छन्।

महामन्त्री गगनकुमार थापाले भने विहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको नेतृत्व परिवर्तन नभए आफू निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन्। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले नेतृत्व परिवर्तन भए मात्र निर्वाचन लड्ने धारणा राखेका हुन्। तर, हालको राजनीतिक परिस्थितिमा तत्काल पार्टी नेतृत्व परिवर्तनको सम्भावना देखिएको छैन।

यसैबीच, अर्का महामन्त्री शर्मा भने नेतृत्व परिवर्तन भए पनि आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने अडानमा कायम छन्। कांग्रेसभित्र शीर्ष नेताहरूको यस्तो निर्णयले पार्टीको चुनावी रणनीति र आन्तरिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

Ads

सम्बन्धित पोष्टहरू