काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। आइतबार बिहान करिब ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्पन्न ७ बुँदे राजनीतिक सहमतिपछि उनले औपचारिक रूपमा संसदीय राजनीतिमा होमिने निर्णय लिएका हुन्।
मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरपालिकाभित्र बाँकी रहेका प्रशासनिक तथा विकाससम्बन्धी केही महत्वपूर्ण प्रक्रिया पूरा गरेपछि बालेनले पदत्याग गर्नेछन्। “उचित समय आएपछि मेयरज्यूले राजीनामा दिनुहुन्छ। महानगरमा बाँकी रहेका काम र कानुनी प्रक्रिया टुंग्याएर दुई साता वा १५ दिनभित्रै राजीनामा हुनेछ,” उनले बताए।
राजनीतिक स्रोतहरूका अनुसार रास्वपासँग भएको सहमतिअनुसार बालेन प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने मात्र होइन, पार्टीको संसदीय दलको नेताको जिम्मेवारी सम्हाल्ने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने समझदारी बनेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ भने माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ।
स्थानीय तहबाट उदाएका बालेनले काठमाडौं महानगरमा ‘आउटकम–आधारित’ शासन शैली, प्रशासनिक कडाइ र प्रतीकात्मक निर्णयमार्फत फरक राजनीतिक पहिचान बनाएका थिए। उनको राजीनामासँगै स्थानीय शासनमा उत्पन्न हुने रिक्तता र राष्ट्रिय राजनीतिमा देखिन सक्ने नयाँ ध्रुवीकरणले नेपाली राजनीतिको दिशा परिवर्तन गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
बालेनको स्थानीय नेतृत्वबाट राष्ट्रिय सत्ता राजनीतितर्फको यात्रालाई आम मतदाता, विशेषतः युवा पुस्ताले चासोका साथ हेरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्