आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्ति जारी गर्दै आगामी जनवरी ५ देखि ७ सम्म ट्रफी टुर नेपालमा हुने जानकारी दिएको हो।
क्यानका अनुसार ट्रफी टुरको विस्तृत कार्यक्रम, तालिका, स्थान तथा विभिन्न गतिविधिसम्बन्धी विवरण भने अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ। क्यानका प्रवक्ता छुम्बी लामाले ट्रफी टुरलाई नेपाली क्रिकेटप्रेमीका लागि विशेष अवसरका रूपमा लिइएको बताउनुभएको छ।
आईसीसी पुरुष टी–२० विश्वकप आगामी सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल पनि सहभागी हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। ट्रफी टुरले नेपाली क्रिकेटको प्रवर्द्धनका साथै क्रिकेटप्रेमीमा थप उत्साह र उत्सवको माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्