Ads

फागुन २१ को निर्वाचन सुरक्षित र निष्पक्ष बनाउन सरकार केन्द्रित : गृहमन्त्री अर्याल


गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको सम्पूर्ण ध्यान फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन केन्द्रित रहेको बताउनुभएको छ।

बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले निर्वाचनमार्फत राजनीतिक स्थिरता कायम गर्नु सरकारको प्रमुख लक्ष्य रहेको स्पष्ट पार्नुभयो। लोकतन्त्रको आधार निर्वाचन भएको उल्लेख गर्दै उहाँले सरकार सत्तामा बसिरहनका लागि होइन, संविधान र कानुनअनुसार समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

“वर्तमान सरकारको उद्देश्य केवल सत्तामा टिकिरहनु मात्र होइन,” गृहमन्त्री अर्यालले भन्नुभयो, “तोकेको समयमै निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै हाम्रो मुख्य लक्ष्य हो। त्यसका लागि सुशासन र राजनीतिक सुनिश्चितता कायम गर्न सरकार पूर्ण रूपमा केन्द्रित छ।”

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने दायित्वलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। निर्वाचन नहुँदा राज्य व्यवस्था कमजोर हुने र मुलुक अस्थिरतातर्फ धकेलिने खतरा रहने उल्लेख गर्दै उहाँले सुशासन कायम गर्न आवधिक निर्वाचनको कुनै विकल्प नरहेको धारणा राख्नुभयो।

गृहमन्त्री अर्यालले जेन–जी जनआन्दोलनपछिको असहज र संवेदनशील अवस्थालाई सामान्यीकरण गर्न सरकार सफल भएको दाबी गर्नुभयो। गृह मन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण भए पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार सक्रिय र प्रतिबद्ध भएर लागिरहेको उहाँको भनाइ थियो।

सुरक्षा गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ। गोष्ठीमा जिल्लागत सुरक्षा अवस्था, चुनौती र निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू