नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार साँझ नयाँदिल्ली उड्ने कार्यक्रम तय भएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न दलबीचको एकतापछि गठित नेकपाको संयोजकको जिम्मेवारी सम्हालेका प्रचण्ड ‘जेनजी आन्दोलन’पछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन्। यस यात्रालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
दिल्ली भ्रमणका क्रममा प्रचण्डले नेकपा निकट प्रवासी नेपाली संगठनद्वारा आयोजित “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई सम्बोधन गरेपछि उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ। यद्यपि, दिल्ली बसाइका क्रममा हुने अन्य भेटघाट तथा राजनीतिक संवादबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन।
नेपाली समाज भारतका महासचिव आरबी खडकाका अनुसार प्रचण्डले सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियममा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। नेपाली समाज भारतद्वारा जारी विज्ञप्तिमा भारतभर बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गरिएको छ। यस कार्यक्रमप्रति भारतीय भूमिमा रहेका नेपाली समुदायमा उल्लेखनीय उत्साह देखिएको विज्ञप्तिमा भनिएको छ।
यद्यपि, फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको प्रचण्डको दिल्ली यात्रालाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कल र शंका समेत व्यक्त भइरहेका छन्। यस यात्राको राजनीतिक सन्देश र सम्भावित प्रभावबारे चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्