Ads

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि पार्टीभित्र विशेष महाधिवेशनको माग पुनः चर्किएको छ।

कार्यसम्पादन समितिको निर्णयसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अगाडि बढाएपछि आज पुनः बैठक बोलाइएको हो। विशेष महाधिवेशनको विषयमा पार्टीभित्र देखिएको मतभिन्नता र विधानअनुसारको प्रक्रिया आजको बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।

यसअघि गत असोज २९ गते नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए। १४औँ महाधिवेशनमा सहभागी कूल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशन आवश्यक रहेको उल्लेख गर्दै हस्ताक्षर गरेका थिए।

कांग्रेस विधानअनुसार कूल महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यस्तो अवस्थामा आजको कार्यसम्पादन समिति बैठकबाट विशेष महाधिवेशनसम्बन्धी ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू