Ads

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि बाहिरिए


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ। पछिल्लोपटक पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले पनि समानुपातिक बन्दसूचीबाट आफ्नो नाम हटाएका छन्।

यसअघि गायिका त्रिशला गुरुङ, आरोही टासी शेर्पा, टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ साह, प्राध्यापक महेन्द्र लावती तथा व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकालले समानुपातिक सूचीबाट नाम फिर्ता लिइसकेका छन्।

रास्वपाले गत १४ पुसको राति निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवार सूचीमध्ये हालसम्म ६ जनाले औपचारिक रूपमा नाम फिर्ता लिएका हुन्। पार्टीले सिफारिस गरेका केही नाम विवादित पृष्ठभूमिका, गैरराजनीतिक व्यक्तित्व तथा केही नेता विशेषसँग अत्यधिक निकट रहेका भन्दै चौतर्फी आलोचना हुँदै आएपछि नाम फिर्ता लिने क्रम बढेको हो।

पछिल्लोपटक नाम फिर्ता लिएका अरनिको पाँडे रास्वपाकै केन्द्रीय सदस्यसमेत हुन्। सार्वजनिक रूपमा पार्टीको बन्दसूचीप्रति प्रश्न उठेपछि उनले पनि सूचीमा रहिरहन उपयुक्त नदेखेको संकेत दिएका छन्।

सामाजिक सञ्जालमार्फत पाँडेले लेखेका छन्,
‘म सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समय विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।’
उनले आफूलाई बन्दसूचीमा सिफारिस गर्ने सबैप्रति धन्यवाद दिँदै आउँदो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमै केन्द्रित रहने उल्लेख गरेका छन्।

यसैबीच, रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रूपमा प्रश्न उठेका नामहरू पार्टीले सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले सिफारिस गरेका महिला, आदिवासी जनजाति, खस आर्यलगायत विभिन्न क्लस्टरमा समेत असन्तुष्टि र विवाद देखिएको थियो। आन्तरिक मतदानमा राम्रो मत ल्याएका केही उम्मेदवारलाई समेत पछि पारिएको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएको छ।

यद्यपि, प्रश्न उठेका अन्य सेलेब्रिटी अनुहारका केही व्यक्तिहरूले भने अहिलेसम्म समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छैनन्।

Ads

सम्बन्धित पोष्टहरू