Ads

टी–२० विश्वकप ट्रफी आगमनले नेपाली क्रिकेटको आत्मविश्वास बढायो : राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकपको ट्रफी नेपाल आगमनलाई देशका लागि अत्यन्त गौरवपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यस अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म प्रवाह गरेको उनको भनाइ छ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले खेलकुद पूर्वाधार, अवसर र सम्भावनाहरू क्रमशः विस्तार हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक संकेत भएको बताए।

उनले नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै क्रिकेटले राष्ट्रिय एकता मजबुत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। “क्रिकेटको व्यावसायिक विकाससँगै खेलकुदमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार अझ सुदृढ बन्दै गएको छ,” राष्ट्रपति पौडेलले स्पष्ट पारे।

नेपालमा विश्वकप ट्रफी ल्याएर नेपाली क्रिकेट र आम जनताको उत्साह तथा आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति आभार व्यक्त गरे। साथै, “नेपालको क्रिकेटले अझ उच्च सफलता हासिल गरोस्, हाम्रा खेलाडीहरूले विश्वमञ्चमा देशको गौरव थप उचाइमा पुर्‍याउन सफल होऊन्,” भन्ने शुभकामना पनि व्यक्त गरे।

यस अवसरमा राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप ग्लोबल छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागिता जनाउने नेपाली महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू