Ads

आमचोकमा रु तीन करोड लगानीमा चियाखेती


भोजपुर, । यहाँको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो ।

गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। उनका अनुसार चियाखेती विस्तारमा एक हजार ३०० जना सेयर सदस्यको सहभागिता छ ।

“आमचोक गाउँपालिकामा चियाखेतीको प्रशस्त सम्भावना छ”, अध्यक्ष राईले भने, “हाल हामी बृहत रूपमा चियाखेती विस्तार गरिरहेका छौँ । चियाखेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो ।”

प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चियाखेती विस्तार गरिएको हो । हालसम्म करिब सात सय रोपनीमा चियाखेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए ।

खाली जमिनको सदुपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रूपमा चियाखेती विस्तार सुरु गरेको हो । गाउँपालिकाभित्र चियाखेतीको राम्रो सम्भावना रहेको वडा नं १, २, ३ र ६ मा प्राथमिकताका साथ खेती विस्तार थालिएको छ । यी वडामा प्रशस्त खाली जमिनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना रहेकाले दीर्घकालीन योजनासहित कार्यक्रम अघि बढाइएको अध्यक्ष राईले बताए ।

“गाउँपालिकाले योजनाबद्ध रूपमा चियाखेती विस्तार गरिरहेको छ”, उनले भने, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयआर्जन वृद्धि र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने हाम्रो प्रयास हो ।”

आमचोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चियाखेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउछन् । गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चियाखेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू