Ads

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री घिसिङ र गुप्ता राजीनामाको तयारीमा


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीसँगै उनीहरूले मन्त्री पदबाट अलग हुने तयारी गरेको बुझिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति बनेका घिसिङ र सोही पार्टीमा सक्रिय हुँदै आएका गुप्ताले निर्वाचनमा केन्द्रित हुन राजीनामा दिन लागेका हुन्।

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्न चाहने मन्त्रीहरूलाई पदबाट राजीनामा दिन स्पष्ट निर्देशन दिएको बताइन्छ। यद्यपि प्रधानमन्त्रीले नाम नतोके पनि घिसिङ र गुप्तालाई लक्षित गर्दै पदमा रहिरहनुभन्दा स्वतन्त्र रूपमा चुनावी तयारीमा जुट्न उपयुक्त हुने धारणा राखेकी थिइन्।

प्रधानमन्त्रीबाट औपचारिक निर्देशन आइसकेपछि घिसिङ र गुप्ताले केही दिनभित्रै राजीनामा दिएर रास्वपाको संगठनात्मक गतिविधिमा सक्रिय हुने तयारी गरेको जानकार स्रोतले जनाएको छ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि आगामी निर्वाचन लड्ने मनस्थिति बनाएको बताइएको छ। स्रोतका अनुसार खरेल रास्वपाबाटै उम्मेदवारी दिने विषयमा पार्टीका नेताहरूसँग नियमित संवादमा रहे पनि अन्तिम निर्णय भने गरिसक्नुभएको छैन।

Ads

सम्बन्धित पोष्टहरू