नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन अवश्य हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरेका छन्। चितवन आएर भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटनपछि आयोजित कार्यक्रममा उनले चुनाव हुने–नहुनेमा अन्योल स्वाभाविक भए पनि निर्वाचन निश्चित रहेको दाबी गरे।
प्रचण्डले सरकार, राजनीतिक दलहरू र कूटनीतिक क्षेत्रसमेत निर्वाचनको पक्षमा रहेको भन्दै शंका नगर्न सबैलाई अनुरोध गरे। उनले भने, “हामी अहिले निर्वाचनको मुखमा छौँ। सबैले सोध्छन्, हुन्छ कि हुँदैन चुनाव? मैले भनेको छु, चुनाव हुन्छ। संविधानसभा निर्वाचनका बेला पनि अन्तिम दिनसम्म शंका थियो, तर चुनाव भयो। अहिले पनि चुनाव निश्चित छ।”
उनले आफ्नो पार्टीले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकेको, प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिँदै गएको र टिकट बाँड्न सुरु गरिसकेको जानकारी पनि दिएका छन्। “मैले हिजोबाटै टिकट बाँड्न सुरु गरिसकेको छु। हिजो काठमाडौँमा बाँडेर आज चितवन आएको हुँ। सरकार, दलहरू र जनता सबै चुनावी मानसिकतामा प्रवेश गरिसकेकाले निर्वाचन अवश्य हुन्छ,” उनले भने।
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचनबाहेक देशका लागि अन्य विकल्प असहज र जोखिमपूर्ण रहेको पनि बताए। “निर्धारित समयमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सबैले योगदान दिनुको विकल्प छैन,” उनले जोड दिए।
भाषणमा उनले भदौ २३ र २४ को परिस्थितिपछि २६ गते राति राष्ट्रपति र प्रधानसेनापतिसँग राजनीतिक दलको नेतृत्वले देशलाई निकास दिन छलफल गरेको स्मरण गर्दै तत्काल अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने प्रस्ताव आफूले राखेको बताए।
कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रक्रियामा असर पर्ने अन्योलबारे उनले सुरक्षा संयन्त्र, सरकार र निर्वाचन आयोगसँग बुझ्दा त्यसले प्रक्रिया प्रभावित नगर्ने प्रतिक्रिया पाएको जानकारी पनि दिएका छन्। “भरे–भोलिसम्म कांग्रेस विवादमा निष्कर्ष निस्किन्छ र त्यसपछि निर्वाचन प्रक्रियामा जान्छ,” प्रचण्डले बताए।
प्रतिक्रिया दिनुहोस्