Ads

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार बालेनले मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिएपछि पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।

स्रोतका अनुसार बालेन आज दिउँसो २ बजे सुरु हुने रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्। उक्त बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार तथा सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ।

रास्वपाबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्। स्रोतका अनुसार उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा गएर चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

यसैबीच, रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेताको भूमिकामा अघि सार्दै भावी प्रधानमन्त्रीका रूपमा चुनावी मैदानमा उतार्ने सहमति गरिसकेको स्रोतको दाबी छ। पार्टी बैठकअघि रास्वपाले केन्द्रीय कार्यालय रहेको घण्टीघर क्षेत्रमा बालेनको भव्य स्वागतको तयारीसमेत गरेको छ।

मेयर पदबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा प्रवेश गर्ने बालेनको निर्णयले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू