काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको उद्घाटन खेलमै नेपाललाई हार बेहोर्नु परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै मात्र २ विकेट गुमाउँदै सहजै पूरा गर्यो। अन्तिमतर्फ २ रन आवश्यक हुँदा थाइल्यान्डले विजयी चौका प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
थाइल्यान्डको जितमा नथाकन चन्थमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५७ रन बनाइन्। नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रनको योगदान दिइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमै सीमित भयो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको पारी खेलिन्। सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।
थाइल्यान्डकी बलर थिपात्चा पुथावङवले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट हात पारे।
यस हारसँगै प्रतियोगिताको सुरुआतमा नै दबाबमा परेको नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। प्रतियोगितामा अघि बढ्न नेपालका लागि आगामी खेल निकै महत्वपूर्ण रहनेछ।
प्रतिक्रिया दिनुहोस्