Ads

गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने


नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।

मंगलबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि थापा २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए। यसपटक भने उनी पहिलो पटक मधेस प्रदेशको निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।

हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापा पार्टीभित्र सुधार र पुस्तान्तरणको अभियानका प्रमुख नेतृत्वकर्ता मानिन्छन्। उनी पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् र स्वास्थ्य क्षेत्र सुधारका लागि चालिएका केही महत्वपूर्ण नीतिगत पहलका कारण परिचित छन्।

कांग्रेस नेतृत्वले सर्लाही–४ लाई राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरेको छ। थापाको उम्मेदवारीले मधेसमा कांग्रेसको संगठन विस्तार र राष्ट्रिय नेतृत्वको उपस्थितिलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू