Ads

सुनको मूल्यमा भारी उछाल, एकै दिन तोलामा १० हजार ४०० वृद्धि


स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ९२० रुपैयाँ पुगेको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ थियो।
यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको मूल्य बढेर दुई लाख ८२ हजार रुपैयाँ तथा चाँदी पाँच हजार ८१० रुपैयाँ पुगेको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीप्रति आकर्षण बढेको छ। यही कारणले अन्तरराष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

Ads

सम्बन्धित पोष्टहरू