नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश्वर दाहालले सिन्धुली क्षेत्र नम्बर–२ बाट उम्मेदवारी फिर्ता नलिने अडान पुनः दोहोर्याउँदै केन्द्रबाट गरिएको उम्मेदवार ‘थोपर्ने’ प्रवृत्तिको कडा शब्दमा भर्त्सना गरेका छन्।
जिल्ला पार्टी कार्यदलले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूलाई पन्छाएर केन्द्रले एकल निर्णय थोपर्नु आन्तरिक लोकतन्त्रमाथिको ठाडो प्रहार भएको दाहालको आरोप छ। “जिल्लाले गरेको निर्णय लत्याएर माथिबाट आदेश झार्ने शैली अब स्वीकार्य छैन,” उनले स्पष्ट पारे।
सिन्धुली–१ बाट सिफारिस भइसकेका व्यक्तिलाई जबर्जस्ती सिन्धुली–२ मा सारिनु स्थानीय कार्यकर्ता र जनताको मतमाथि गरिएको हस्तक्षेप भएको भन्दै दाहालले यसलाई राजनीतिक अन्यायको संज्ञा दिए। उनले भने, “हामी व्यक्ति होइन, प्रक्रिया र सिद्धान्तको लडाइँ लडिरहेका छौँ।”
दाहालको उम्मेदवारीमा हरिबोल गजुरेल प्रस्तावक र पानीराज बम्जन समर्थक रहनु स्वयं जिल्लाको आधिकारिक नेतृत्व एकढिक्का रहेको प्रमाण भएको उनको भनाइ छ। “यो व्यक्तिगत जिद्दी होइन, जिल्लाको आत्मसम्मानको सवाल हो,” उनले जोड दिए।
“जबसम्म केन्द्रले आफ्नो गलत निर्णय सच्याउँदैन र जिल्लाको सिफारिसलाई मान्यता दिँदैन, तबसम्म उम्मेदवारी फिर्ताको प्रश्नै उठ्दैन,” दाहालले चेतावनी दिए। केन्द्रले जिल्लाको आवाज नसुने त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने संकेत समेत उनले दिए।
उनका अनुसार यो कदम पार्टीविरुद्ध होइन, पार्टीलाई जोगाउनका लागि उठाइएको निर्णायक संघर्ष हो। “कम्युनिस्ट पार्टी जनताको विश्वासबाट बन्छ, थोपर्ने आदेशबाट होइन,” दाहालले ठोकुवा गरे।
प्रतिक्रिया दिनुहोस्