नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेलको सहमति भएको छ।
आइतबार सम्पन्न सहमतिअनुसार पश्चिम रुकुममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माको पक्षमा एमालेले ‘आँखा’ चिन्हमा मतदान गर्ने भएको छ। त्यस्तै, पूर्वी रुकुममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनको समर्थनमा पनि एमालेले आँखा चिन्हमै मतदान गर्ने सहमति भएको छ। पूर्वी रुकुममा सन्दीप पुनसँग नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धामा छन्।
त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलअन्तर्गतका जिल्लाहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीले नेकपा एमालेका उम्मेदवारको पक्षमा ‘सूर्य’ चिन्हमा मतदान गर्ने सहमति भएको छ।
सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पार्टीले आफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब आवश्यक निर्देशन दिने सहमतिसमेत गरेका छन्।
सहमति पत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष दुर्गा सोवको हस्ताक्षर रहेको छ।
प्रतिक्रिया दिनुहोस्