काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन आज जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । उनले राजनीतिक मुद्दालाई निष्कर्षमा पुर्याएपश्चात् नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ, हामी उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँ,” राष्ट्रपति पौडेलले भने ।
आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँ स्तरमा पुर्याउन र आगामी वर्षमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यका लागि मार्ग प्रशस्त गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन जनता–जनताबीचको सम्पर्कलाई समेटेको तथा यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत थप सुदृढ हुँदै गएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताए । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धि हुने उनले उल्लेख गरे ।
“त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौँ,” राष्ट्रपति पौडेलले भने ।
नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकामा उनले प्रसन्नता व्यक्त गरे । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने । जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकामा जापानप्रति उनले आभार व्यक्त गरे ।
“हाम्रा दुई मुलुकले सौहाद्र्रपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात् गरेका छौँ, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भने । सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्