Ads

दियालोको अँध्यारो हट्यो, गिडिखोला जलविद्युतले उज्यालियो जुम्लाका गाउँ


जुम्लाको तातोपानी गाउँपालिका–४ नियापानेका भद्रवीर सार्कीका लागि अहिले गाउँको रात अझै पनि अचम्मको अनुभवजस्तै लाग्छ। वर्षौँसम्म सल्लाको दियालोको धुमिल उज्यालोमा जीवन बिताएका उनी अहिले चौबिसै घण्टा बलिरहेको बिजुली देख्दा छक्क पर्छन्।

“पहिले हुनेखानेले सोलार किनेर बत्ती बाल्थे, कसैले मैनबत्ती, कसैले लालटिन,” उनले विगत सम्झँदै भने, “हामीजस्ता आर्थिक अवस्था कमजोर भएकाहरूले भने सल्लाको दियालोमै गुजारा चलायौँ।”

दियालोको धुवाँले भरिने घर, कालो भित्ताहरू र अँध्यारोमा हराउने गाउँ अहिले झलमल्ल देखिन थालेका छन्। रात पर्दासाथ सुनसान हुने बस्तीहरूमा बिजुलीको उज्यालोले जीवनको लय नै बदलिदिएको छ।

तातोपानी–४ कै कमला नेपालीका अनुसार बिजुलीले गाउँमा उज्यालो मात्रै ल्याएको छैन, स्वास्थ्य र सरसफाइमा पनि सकारात्मक परिवर्तन आएको छ।
“पहिले सल्लाको दियालोले घरभरि धुवाँ हुन्थ्यो, भित्ताहरू कालो हुन्थे। स्वास्थ्यमा पनि असर पर्थ्यो,” उनले भनिन्, “अहिले बिजुली आएपछि उज्यालो मात्रै होइन, घरभित्रको वातावरण नै बदलिएको छ।”

गाउँमा इन्टरनेट सेवा पुगेपछि प्रविधिसँगको दूरी पनि घट्दै गएको छ। कमलाका अनुसार अहिले धेरै परिवारले इन्टरनेट प्रयोग गर्न थालेका छन्।
“आफन्तहरूसँग भिडियोमा कुरा गरेर सुखदुःख साट्ने अवस्था आएको छ,” उनले भनिन्।

भद्रवीर र कमलाजस्तै झण्डै तीन हजार घरधुरी अहिले गिडिखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको उज्यालोमा जीवन बिताइरहेका छन्। अँध्यारोमा रात बिताउन बाध्य बस्तीहरूमा अहिले चौबिसै घण्टा विद्युत सेवा उपलब्ध भएको छ।

२ सय १४ किलोवाट क्षमताको गिडिखोला जलविद्युत आयोजना तातोपानी गाउँपालिकाका आठमध्ये छ वडामा विस्तार भएको छ। जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाका तीन वडासम्म पनि यसको सेवा पुगेको छ।

जालपादेवी विद्युत सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार गाउँमा बिजुली पुगेपछि उज्यालो मात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ।

“गाउँ झिलिमिली भएको मात्रै होइन, उत्पादन भएको बिजुली बजारमा पनि बेचिरहेका छौँ,” उनले भने।

झण्डै १० करोड रुपैयाँ लागतमा निर्माण भएको यो आयोजना २०६१ सालमा सुरु गरिएको थियो। लामो प्रयासपछि २०७४ सालदेखि विद्युत उत्पादन सुरु गरेर गाउँबस्तीमा वितरण गरिएको हो। प्रारम्भिक लागत अनुमान १६ करोड रुपैयाँ रहे पनि पछि १२ करोडमा टेन्डर आह्वान गरिएपछि अन्ततः १० करोड रुपैयाँमै आयोजना निर्माण सम्पन्न भएको थियो।

आयोजनामा स्थानीय समुदायको पनि उल्लेख्य लगानी रहेको छ। करिब १ करोड ५० लाख रुपैयाँ स्थानीयले लगानी गरेका छन् भने १ करोड ६३ लाख रुपैयाँ बैंक ऋणमार्फत जुटाइएको छ। वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी) ले ५ करोड ७० लाख रुपैयाँ अनुदान दिने भनिए पनि अन्ततः ४ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो।

गिडिखोलाको पानी करिब ३७ सय मिटर टाढासम्म नहरमार्फत ल्याएर उत्पादन गरिएको विद्युत अहिले तातोपानी गाउँपालिकाका जर्मी लाछु, डाँगीबाडा, बाबिरा, रावतबाडा, खड्कबाडा, धौलापानी, हियाँखोला, गौतमबाडा, जैतपुर, हाँकु, नियापानी, गिडिखोला, पत्थेनी, ऐरेनी र लाम्रालगायतका गाउँमा चौबिसै घण्टा वितरण भइरहेको छ।

चन्दननाथ नगरपालिका–८, ९ र १० का बोहोरागाउँबाहेक अधिकांश बस्तीमा पनि यही आयोजनाको विद्युत पुगेको छ।

बिजुली आएपछि गाउँमा साना उद्योगधन्दा पनि विस्तार हुन थालेका छन्।
“फर्निचर उद्योगदेखि कुटानी–पिसानी मिलसम्म सञ्चालन भएका छन्। बालबालिकालाई पढ्न पनि सहज भएको छ,” अध्यक्ष पाण्डेले भने।

विपन्न परिवारलाई लक्षित गर्दै विद्युत लाइन निःशुल्क जडान गरिएको छ भने उपभोक्ताका लागि न्यूनतम मासिक महशुल १ सय रुपैयाँ तोकिएको छ।

हाल आयोजनाबाट हिउँदमा मासिक करिब २ लाख २० हजार रुपैयाँ र बर्खायाममा करिब १ लाख २५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको सहकारीले जनाएको छ।

३७ सय मिटर टाढाबाट नहरमार्फत ल्याइएको गिडिखोलाको पानीबाट उत्पादन हुने बिजुली अहिले अँध्यारोमा बाँचेका गाउँका लागि केवल उज्यालो मात्र होइन, सम्भावनाको नयाँ ढोका पनि बनेको छ।

Ads

सम्बन्धित पोष्टहरू