कारबाहीपछि आत्ममन्थनमा हरिबोल गजुरेल, प्रचण्डसँगको तस्बिर राख्दै उठाए गम्भीर प्रश्न
कारबाहीमा परेपछि तत्कालीन नेकपा नेता हरिबोल गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनकी स्वर्गीय पत्नी सीता दाहाल र छोरी रेणु दाहालसँगको पुरानो तस्बिर सार्वजनिक गर्दै वर्तमान राजनीतिक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै गजुरेलले ‘इमान्दारिताको प्रतीक मानिएको इतिहास किन र कुन पात्र तथा प्रवृत्तिगत कारणले वर्तमानमा विद्रुप बन्न पुग्यो’ भन्ने विषयमा गहिरो आत्ममन्थन आवश्यक रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “इमान्दारिताको प्रतीक मानिएको इतिहास वर्तमानमा किन र कुन पात्र तथा प्रवृत्तिगत कारणले विद्रुप बन्न पुग्यो भन्ने प्रश्नमा गहिरो घोत्लिनु आजको अनिवार्य आवश्यकता हो।”
यसअघि माघ १० गते गजुरेलसहित सात जनालाई पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निष्कासन गरेको थियो। निष्कासनमा पर्ने अन्य नेताहरूमा महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका थिए।
सिन्धुली–२ मा पार्टीको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका बेला गजुरेलले महेश्वर दाहाललाई बागी उम्मेदवारका रूपमा अघि सारेपछि उनी कारबाहीमा परेका थिए। पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै उनलाई निष्कासन गरिएको थियो।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि करिब १५ दिनमै गजुरेलले प्रचण्डसँगको तस्बिर सार्वजनिक गर्दै विगतको आदर्श र वर्तमान अवस्थाबीचको अन्तरबारे गम्भीर बहस आवश्यक रहेको सन्देश दिएका छन्।
प्रतिक्रिया दिनुहोस्