राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्का सदस्य छनोटका लागि सक्रिय छलफल सुरु गरेको छ।
बिहीबार साँझ काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच भएको प्रारम्भिक संवादपछि शुक्रबारबाट सम्भावित मन्त्रीहरूको नामबारे विस्तृत छलफल अघि बढेको हो।
पार्टीभित्र केही मन्त्रालयमा दुवै पक्षबाट एउटै व्यक्तिको नाम प्रस्तावित भएको छ भने अन्य मन्त्रालयमा अझै फाइनल निर्णय हुन बाँकी छ। पार्टीका एक नेताका अनुसार,
“दुवै नेताले केही मन्त्रालयमा एउटै व्यक्तिलाई चाहनुभएको छ। अन्य धेरै मन्त्रालयका पात्रबारे छलफल जारी छ। बिहीबार साँझदेखि यो प्रक्रिया सुरु भएको हो। आज दिउँसो थप छलफल गर्ने योजना छ।”
छलफलमा मन्त्रालयमा पठाउने व्यक्ति, संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतको जिम्मेवारीमा कानुन र अनुभवको ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने विषयमा विशेष जोड रहेको छ।
त्यसैगरी, पार्टीले मन्त्रिपरिषद्को तयारीसँगै सभामुख, प्रमुख सचेतक, सचेतक र संसदीय दलको उपनेता पदका लागि पनि योग्य नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेको छ। पार्टीभित्रको बहसले संकेत गरेको छ कि सभामुख र प्रमुख सचेतक पदमा नेतृत्व क्षमता भएका व्यक्तिलाई प्राथमिकता दिने नीति अपनाउने सम्भावना बलियो छ।
प्रतिक्रिया दिनुहोस्