पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले २०८२ सालको आमनिर्वाचन परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरणलाई स्थापित गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो विश्लेषण सार्वजनिक गर्दै उनले यो परिवर्तनलाई ‘डिजिटल र एआई युगतर्फको निर्णायक फड्को’ का रूपमा व्याख्या गरेका छन्।
भट्टराईका अनुसार नयाँ संसद्मा युवाको उल्लेखनीय उपस्थिति यसपटकको निर्वाचनको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो। “४० वर्षमुनिका १०२ जना सांसद, अर्थात् करिब ३८ प्रतिशत प्रतिनिधित्व हुनु भनेको अब नेपाली राजनीति डिजिटल र एआई युगतर्फ प्रवेश गरिसकेको संकेत हो,” उनले उल्लेख गरेका छन्।
उनले निर्वाचन परिणामलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न सकिने भए पनि यसपटकको जनादेशले राजनीतिमा पुस्तान्तरणको प्रक्रियालाई ‘उल्टाउनै नसकिने’ गरी स्थापित गरिदिएको दाबी गरेका छन्।
साथै, परिवर्तित राजनीतिक परिवेश र युवापुस्ताको बढ्दो आकर्षणलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य संकटमा पर्ने चेतावनी दिँदै उनले भनेका छन्, “यो यथार्थलाई बेवास्ता गर्नेहरूको राजनीतिक भविष्य आफैँ स्पष्ट छ।”
भट्टराईले विशेष गरी पछिल्लो निर्वाचनमा नयाँ शक्ति र युवा उम्मेदवारको उदयलाई प्रविधि–केन्द्रित युगसँग जोड्दै अबको राजनीति विचारसँगै प्रविधि, नवप्रवर्तन र डिजिटल क्षमतासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने संकेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्