Ads

रवि नख्खुबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रामण


गौरीबहादुर कार्की संयोजकत्वको छानबिन समितिले सार्वजनिक गरेको “जेन–जी विद्रोह” सम्बन्धी प्रतिवेदनले देशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदन अनुसार रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनापछि देशभरका कारागारहरूमा आक्रमण, तोडफोड र कैदी भगाउने घटना श्रृंखलाबद्ध रूपमा भएको देखिएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २४ गते दिउँसो करिब ३ः३० बजे लामिछानेलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरू नख्खु कारागारको मूल गेटमा भेला भएका थिए। भीड क्रमशः बढ्दै कारागार परिसरभित्र प्रवेश गरी प्रशासनमाथि दबाब सिर्जना गरेको थियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि कारागार प्रशासनले सुरक्षाका दृष्टिले लामिछानेलाई बन्दी कोठाबाट निकालेर कारागार परिसरकै मानसिक अस्पतालमा सारिएको थियो। सो क्रममा लामिछानेले स्वयं भीडलाई शान्त रहन आग्रह गर्दै कारागार र कर्मचारीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका थिए।

जेलरले आयोगसमक्ष दिएको बयान अनुसार, भीडको दबाब बढेपछि लामिछानेलाई केही समयका लागि भीडसमक्ष प्रस्तुत गरिएको थियो। तर उनी स्वयंले “न्यायिक हिरासतमा रहेकोले आधिकारिक अनुमति बिना बाहिर नजाने” अडान राखेका थिए।

पछिल्लो चरणमा उनका समर्थकहरूले कारागार प्रमुखसँग आधिकारिक पत्र लिएपछि मात्र लामिछाने कारागारबाट बाहिर निस्किएको प्रतिवेदनले पुष्टि गरेको छ।

प्रतिवेदन अनुसार, लामिछाने बाहिरिएको खबर सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको थियो। त्यसलगत्तै काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका कारागारहरूमा आक्रमण, आगजनी, तोडफोड तथा कैदीबन्दी भगाउने घटनाहरू सुरु भएका थिए। कतिपय स्थानमा कैदीबन्दी आफैँ भागेकोसमेत उल्लेख गरिएको छ।

नख्खु कारागारको घटनालाई आधार मानेर अन्य स्थानहरूमा समेत उस्तै प्रकृतिका हिंसात्मक गतिविधि भएको प्रतिवेदनले औंल्याएको छ। यस घटनाले राज्यको सुरक्षा संयन्त्र, सूचना व्यवस्थापन र भीड नियन्त्रण क्षमतामाथि गम्भीर चुनौती खडा गरेको निष्कर्ष प्रतिवेदनले प्रस्तुत गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू